बाढी प्रभावित क्षेत्रमा भाइरल प्रकोप:झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा समस्या

श्रावण ३२, २०७४- बाढी प्रभावित क्षेत्रका स्थानीय बिरामी पर्न थालेका छन् । उनीहरूमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको हो ।

बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायतको संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताए । राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेपछि त्यहाँका बाढी प्रभावितको उपचारमा समस्या भएको छ । बाढीले औषधिसमेत नष्ट गरेका कारण कठिनाइ भएको हो ।
डुडवा गाउँपालिकाका स्वास्थ्य चौकीहरू पनि बाढीको डुबानमा छन् । राप्ती सोनारी ६ कमैया डाँडामा बिरामीको संख्या बढेको छ । जटिल अवस्थाका ६ जना बिरामीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज ल्याइएको छ । आइतबार त्यहाँका दुई बिरामीलाई सेनाले उद्धार गरी नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । प्रभावित क्षेत्रका करिब पाँच सय बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।  बाढीपीडित बस्तीमा भाइरलको प्रकोप फैलिन थालेपछि चिकित्सहरूसहितको टोली परिचालन गरिएको छ । अति प्रभावित फत्तेपुर क्षेत्रमा मंगलबार साँझ औषधिसहित स्वास्थ्यकर्मी पठाइएको जनस्वास्थ्यले जनाएको छ । जिल्ला जनस्वास्थ्य, बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खडकाले बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण देखिएको बताए । ‘बाढीपछि वातावरण दूषित छ । त्यसैले भाइरल देखिएको हुनसक्छ,’ उनले भने, ‘सबैजसो क्षेत्रमा स्वास्थ्यकर्मीहरू पठाइसकेका छौं ।’
पानी शुद्धिकरण को लागि पियुश को प्रयोग गरौ।
राप्ती सोनारी गाउँपालिकाको कमैया डाँडा, टिकुलीपुर, बालापुर, फत्तेपुर, बैजापुर, कचनापुर र कुसुम गाउँका पीडितमा समस्या बढी देखिएको छ । त्यस्तै, खजुरा गाउँपालिकाको उढरापुर र पुरैनाका पीडितहरूले स्थानीय विद्यालयमा आश्रय लिएका छन् । त्यहाँका पीडितहरू पनि बिरामी परेका छन् । नरैनापुर गाउँपालिकाको सोनवर्षा र गंगापुरका स्थानीय पनि बिरामी परेका छन् । डुडवा गाउँपालिकाको खल्ला झगडिया गाउँका पीडितहरू डाँडामा बसेका छन् । त्यहाँका पीडितहरूमा पनि भाइरलको समस्या देखिएको छ ।
बाढीका कारण राप्ती सोनारी गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएका कारण एम्बुलेन्स जान सक्ने अवस्था छैन । राप्ती नदीको सिधनिया घाटमा रहेको पुलको पूर्वतर्फ रहेको सडक कटानमा परेपछि सवारीसाधन चल्न सकेका छैनन् । सहसेनानी डा. प्रतीक रेग्मीले फत्तेपुर क्षेत्रका जटिल अवस्थाका बिरामीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगन्ज ल्याएको बताए । उनले जिल्ला जनस्वास्थ्यको आग्रहपछि प्रभावित क्षेत्रका बिरामीलाई उद्धार गरिरहेको जनाए ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बाढी प्रभावित क्षेत्रका बिरामीहरूको उपचार भइरहेको बताए । उनले पीडितहरू बसेकै स्थानमा
पुगेर स्वास्थ्य जाँच गरेर औषधि दिइरहेको जनाए । -Source: Kantipur

प्रकाशित: श्रावण ३२, २०७४