टेकु अस्पतालमा स्क्रब टाइफसका बिरामी भेटिए, २०७४ सालमा पहिलो संक्रमण पुष्टि

काठमाडौँ- शुक्रराज ट्रपिकल अस्पताल टेकूमा उपचाररत एक बिरामीमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।

२०७४ सालमा स्क्रब टाइफस संक्रमणको यो पहिलो केस हो। बाराको गढीमाई नगरपालिका १६ की ३५ वर्षीय महिलामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बाँस्तोलाले जनाएका छन्।

डा. बाँस्तोलाका अनुसार तीन दिनअघि उपचारका लागि ल्याइएकी ती महिलालाई ९-१० दिनदेखि लगातार ज्वरो आइरहेको थियो। उनको आँखा रातो भएको थियो भने, जोर्नी र टाउको दुखिरहने बताएकी थिइन्।

‘लक्षणका आधारमा परीक्षण गर्दा उनलाई स्क्रब टाइफसको संक्रमण भएको पुष्टि भयो,’ डा. बाँस्तोलाले भने, ‘सुरुवाती चरणमै संक्रमण पुष्टि भएकाले उनको अन्य अंगमा समस्या पुगेको छैन। केही दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिनेछ।’

गत वर्षको वैशाखदेखि असोजसम्म ३२ जिल्लामा गरी दुई सय ६४ जनामा स्क्रब टाइफस देखिएको थियो। ती मध्ये ८ जनाको मृत्यु भएको थियो। नेपालमा सन् २०१५ मा स्क्रब टाइफसको बिरामी पहिलो पटक पहिचान भएको थियो।

खासगरी मुसाबाट सर्ने मानिएको स्क्रब टाइफस गर्मी समयमा देखा पर्छ। यसका लक्षण निम्नानुसार छन्:

– १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु,

– अत्याधिक टाउको दुख्नु,

– सास फेर्न समस्या हुनु,

– शरीर बाउँडिनु,

– जिउ, जोर्नी र मांसपेशीमा पीडा हुनु,

– खोकी, वाकवाक, वान्ता, पेट दुखाइ र पखालाले सताउनु,

– बढी संक्रमण हुँदा गर्दन, नितम्ब, पाखुरामा गाँठो देखिनु,

– बिरामीको गम्भीरता अनुसार रगतमा प्लेटलेट्सको संख्या कम हुनु,

– छाती, पाखुरा, हातखुट्ठासम्म फैलिने गुलाबी बिमिरा देखिनु।