शाकाहार भोजनः लामो आयु र निरोगी जीवनको लागि

दशैं सकिएको छ । तिहारको रौनकले घरआँगन रंगाइसकेको छ । दशैं र तिहारको दुई फरक विशेषता खानपानसँग जोडिएको छ । दशैंमा माछामासुको परिकार विशेष मानिन्छ । तिहारमा, मिठाई । दशैंमा जसरी हरेक भान्सामा खसीको पक्कु पाक्छ, उसैगरी तिहारमा सेलरोटी ।

तर, स्वास्थ्यका दृष्टिले माछामासु र मिठाइजन्य परिकार उति उचित मानिदैन । नियन्त्रित मात्रामा सेवन गर्दा त उति हानी नहोला, तर मिठो-मसिनो देखेपछि हामी मुख बार्दैनौं । मनलाग्दो खाइदिन्छौं । आखिरमा रोगग्रस्त बन्न पुग्छौं ।

खानपानसँग स्वास्थ्यको खास नाता छ । जस्तो खान्छौं, हाम्रो स्वस्थ्य पनि त्यस्तै हुन्छ । कतिसम्म भनिन्छ भने, खानपानले हाम्रो सोंच-चिन्तनलाई पनि प्रभावित बनाउँछ । त्यसैले त पूर्खाहरुले पोषणयुक्त, सुपाच्य र सन्तुलित खाना खानुपर्छ भनेका हुन् ।

खानपान र स्वास्थ्यको कुरा गर्दा मासुजन्य परिकार त्यती उपयुक्त मानिदैन । निश्चय पनि मासुमा केही किसिमका पोषक तत्व हुन्छन् । यद्यपी मासु बाहेकका खानेकुरामा पनि ति पोषक तत्व पाइन्छ । मासुजन्य परिकारले जिब्रोलाई त लोभ्याउँछ, तर पाचन यन्त्रलाई बोझिलो बनाउँछ ।

सामान्य अनुभव के गर्न सकिन्छ भने, मासु खाएको बेला हाम्रो पेट भारी हुन्छ । लामो समय हामीलाई भोक लाग्दैन । यसको सोझो अर्थ हो, मासुलाई पचाउने प्रक्रिया लामो हुन्छ । जब मासु खान छाड्छौं, शरीरमा बेग्लै ताजगी महसुष हुन्छ । फूर्ति आउँछ । पेट हल्का हुन्छ ।

पोषक-तत्व होइन, रोगको स्रोत

खासगरी हाम्रो सन्दर्भमा मासु पोषक तत्व भन्दा बढी रोगको स्रोत हो । हामीकहाँ कस्तो जनवार बध गरिन्छ, कसरी भण्डारण गरिन्छ भन्ने कुरामा खास चासो राखिदैन । जबकी कुनैपनि जनवार बध गर्नुअघि त्यो निरोगी हुनैपर्छ । जनवारलाई बध गर्ने विधी पनि उन्नत हुनुपर्छ । तर, हामी जस्तो पनि पशु बध गर्छौं, रोगी होस् वा निरोगी । बध गर्ने शैली पनि फरक छ । पशुलाई तड्पाएर वा दुख दिएर बध गर्छौं । यसरी मारिएको पशुको मासु खानु भावनात्मक हिसाबले मात्र होइन, बैज्ञानिक हिसाबले पनि उचित मानिदैन ।

मारिएको पशुलाई भण्डारण गर्ने तरिका पनि ठिक छैन । जथाभावी राखेर बिक्री गरिन्छ । जबकी मासु आफैमा यति संवेदनसिल कुरा हो, जसमा चाडै जीवाणु फैलन सक्छ ।

अक्सर हामी मासु पकाउँदा स्वास्थ्यलाई ख्याल गरेर होइन, स्वादलाई ख्याल गरेर पकाउँछौं । पर्याप्त तेल, मरमसला आदि मिश्रण गरेर पकाइन्छ । यसरी पकाएको खानेकुरा पाचन यन्त्रका लागि भार बन्छ ।

मांसहार घट्दैछ

अहिले विश्वमै मांसाहारको संख्या घट्दैछ । स्वास्थ्य र संवेदनाको ख्याल गर्दै धेरैले शाकाहार भोजनमा आफुलाई अभ्यस्त बनाइरहेका छन् ।

आखिर मासुजन्य परिकार छाडेर शाकाहार भोजन सेवन गर्दा के हुन्छ त फाइदा ?

जब हामी मासुजन्य परिकार त्याग गर्छौं, त्यसो प्रभाव तुरुन्तै अनुभव गर्न सकिन्छ । यसले सबैभन्दा पहिले त पाचन यन्त्रमा प्रभाव पार्छ । शाकाहार खानेकुरा सजिलै पचाइन्छ । पेट भारी हुँदैन । शाकाहार भोजन पचाउनका लागि शरीरले कम उर्जा खर्च गर्नुपर्छ ।

अहिले उच्च रक्तचाप, कोलोस्टोर, मोटोपन आदिमा मासुजन्य परिकार पनि एउटा कारण बनेको छ । जब मासुजन्य परिकार छाडिन्छ, यावत् रोगको भयवाट मुक्त भइन्छ ।

शाकाहार भोजनमा पानीको मात्रा अधिक हुन्छ, यसको सेवनले एन्टिअक्सिडेन्ट र भिटामिन प्राप्त हुन्छ । यसले छालाको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।

शाकाहारमा फ्याट र सोडियमको मात्रा कम हुन्छ । यसले उच्च रक्तचापको जोखिम कम गर्छ र रक्त प्रवाह राम्ररी गराउँछ । मासुजन्य परिकार त्यागेर सागसब्जी बढी सेवन गर्दा शरीरमा ब्लड सुगर लेभल पनि नियन्त्रण हुन्छ । अस्वस्थ्यकर मासु खाने व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिको कोलेस्टोर एकदम नर्मल हुन्छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दीर्घ रोगहरुको जोखिममा हुँदैनन् । मांसाहारको तुलनामा शाकाहार व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुन्छ ।

के, किन खाने ?

– सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।

– फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।

– शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

– दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनिक भोजनमा दाल सामेल गर्न सकिन्छ ।

– हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ, यसमा फोलिक एसिड भरपुर मात्रामा पाइन्छ, जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।