डा. निरज बमको टिप्स, वर्षा मौसममा निमोनियाबाट यसरी बचौं

काठमाडौ लगायतका देशका विभिन्न भागहरुमा भारी वर्ष हुने गरेको छ । भारी वर्षाका कारण गर्मी मौसममा झाडापखाला, हैजा लगायतको संक्रमण बढ्ने गर्दछ । त्यस्तै, धुलोधुवाँ, वायु प्रदुषण लगायतका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनिया हुने संभावना अधिक हुने गर्दछ । निमोनिया संक्रमण सामान्यतया जाडो मौसममा धेरै हुने गर्दछ । तर जोखिममा रहेका मानिसहरुलाई भने यसको संक्रमण हुने सम्भावना वर्षामा पनि धेरै हुने गर्दछ ।

के हो निमोनिया ?

निमोनिया एक किसिमको फोक्सोको संक्रमण हो, जुन कुनै पनि उमेरमा हुनसक्छ । हावामा रहने व्याक्टेरिया तथा भाइरस सासको माध्यमद्धारा फोक्सोमा पुगेमा निमोेनिया हुने गर्दछ । निमोनियाको लक्षण त्यस्ता व्यक्तिहरुमा छिटै देखिन्छ, जसमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै मुधमेह, मिर्गौला, कलेजो सम्बन्धि रोग लगायत एचआईभी एड्सको संक्रमण बढी हुने गर्दछ ।

व्याक्टेरियाका कारण निमोनिया भएमा समयमै उपचार भएको खण्डमा यो रोग एक हप्तामा निको हुने गर्दछ । तर निमोनियाका कारण छातीको एक्स-रेमा दाग देखिएमा भने उक्त दाग निको हुन दुई हप्ता देखि छ हप्तासम्म लाग्न सक्छ ।

निमोनिया हुनुका कारण

स्ट्रेप्टोककस व्याक्टेरिया, भाइरस, फंगस तथा परजीवीकेा संक्रमण लगायतका कारण पनि निमोनिया हुने गर्दछ । त्यस्तै, हिमोफिलस इन्फ्लुएञ्जा, माइक्रोप्लाज्मा, क्यालामैडिया लगायतका कारण पनि निमोनिया हुने गर्दछ । त्यस्तै, फ्लु भाइरस, राइनो भाइरस, एन्फ्लुएञ्जा, एडिनोभाइरस लगायतका कारण पनि निमोनिया हुने गर्दछ ।

त्यसबाहेक, डिजेल, पेट्रोल लगायतका कुनै रसायन एस्पिरेट भएर फोक्सो नलीमा पुगेर, वा फोक्सोमा लागेको चोटपटक तथा फोक्सो, मुटु तथा छाती सम्बन्धि अन्य रोगहरुका कारण तथा टाइफाईड विगि्रएमा पनि फोक्सोमा संक्रमण भई निमोनिया हुन सक्दछ ।

निमोनिया भएमा फोक्सोको बाहिरी झिल्ली (प्युरा )मा पानी जम्ने गर्छ, जसमा पछि गएर पिप समेत जम्मा भई फोक्सो खुम्चिने ( प्यासिभ कोल्याप्स हुने) गर्दछ । जसका कारण सास लिनमा कठिनाई उत्पन्न हुने गर्दछ ।

निमोनियाका लक्षण

निमोनियाको संक्रमण भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ ।

-ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने

-सास लिदाँ स्वाँस्वाँ आउने, छाती घ्यारघ्यार हुने

-छाती तथा पेटेको तल्लो भाग दुख्ने

-ओठ तथा नङ्गको रङ्ग निलो हुने

-ज्वरोका कारण शरीर काप्ने

– कफ आउनेे

– शरीर तथा मांसपेशी दुख्ने

-थकान तथा कमजोरी महसुस हुने

-पाँच वर्षभन्दा कमका बालबालिकालाई निमोनिया भएमा सास लिन अˆठेरो हुने, दुध पिउन कठिनाई हुने

कुन अवस्थामा निमोनियाका कारण ज्यान जान सक्दछ ?

रुघाखोकी तथा ज्वरो आएको लामो समय भइसक्दा पनि सही उपचार नभएमा निमोनिया विग्रेर विरामी सेप्टिसेमिया जाने र सेप्टिसेमिया भएकै कारण विरामीको ज्यानै जान सक्छ । त्यस्तै, रक्सी, चुरोट सेवन गर्नेहरुलाई पनि निमोनिया भएमा त्यसको कारण ज्यानै जान सक्दछ ।

निमोनिया रोकथामको उपाय

निमोनियाको जोखिममा रहेका समूहले निमोनिया हुनबाट बच्न यी उपायहरु अपनाउन सक्दछन् ।

-पोषिलो खानेकुराको सेवन गर्ने

-न्यायो कपडा लगाउने

-रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु धेरै भीडभाडमा नजाने

-भीडभाडमा जादाँ मास्कको प्रयोग गर्ने

-धुमपान तथा मद्यपान नगर्ने

– कलेजो , मिर्गौला तथा फोक्सो सम्बन्धि रोग भएकाहरुले यस रोगबाट बच्न बेलामै फ्लु, इन्फ्लुएञ्जा तथा निमोनिया विरुद्धको खोप लगाउने

–रुघाखोकीका साथै उच्च ज्वरो आएमा तुरुन्तै चिकित्सकलाई देखाउने

-जथाभावी एन्टीवायोटिक्को प्रयोग नगर्ने

उपचार विधि:

निमोनिया रोगको पहिचान विरामीको लक्षण तथा छातीको एक्स-रे द्धारा गर्न सकिन्छ । त्यस्तै, रगत परिक्षण तथा खकारको जाँचद्धारा पनि निमोनियोको जाँच गर्न सकिन्छ ।

फोक्सोमा निमोनियाको संक्रमण भएमा एक्स-रे गर्दा छातीमा दाग देखिने गर्दछ । छातीमा निमोनियाको दाग देखिएमा एन्टीबायोटिक्सको सेवनद्धारा पनि विरामीकेा उपचार गर्न सकिन्छ । त्यस्तै, केही दिन विरामीलाई अस्पतालमा भर्ना गराएर पनि निमोनियाको उपचार गर्न सकिन्छ ।

लेखक त्रि.वि शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप प्राध्यापकका रुपमा कार्यरत छन्